काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रिया पूरा भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयुकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएसँगै परियोजनाले गति लिने भएको हो।
काठमाडौं र ललितपुरको विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन उच्च क्षमताको जीआईएस सबस्टेशन निर्माण प्रक्रिया अघि बढाइएको भए पनि जग्गा अभावका कारण चार वर्षभन्दा बढी समयदेखि काम रोकिएको थियो।
उक्त सबस्टेशन एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा करिब २ अर्ब रुपैयाँ लागतमा निर्माण गरिनेछ। भक्तपुरको ठिमीबाट आउने भूमिगत विद्युत् प्रसारण लाइन बालकुमारी सबस्टेशनमा जडान गरिनेछ र त्यहाँबाट टेकु सबस्टेशनमा जोड्ने योजना रहेको छ।
सबस्टेशन निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।
केयुकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रका लागि आवश्यक विद्युत् प्राधिकरणले निःशुल्क उपलब्ध गराउने र त्यसवापत प्राधिकरणले २५ वर्षका लागि ३ रोपनी १३ आना २ पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ।
जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै अब सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिने तयारी गरिएको छ।


