काठमाडौँ । बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्ड आंशिक रूपमा सञ्चालनमा छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
काभ्रेको खुकुर्ट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनलाई समयअनुसार व्यवस्थापन गरिएको छ। प्रहरीले १० टनभन्दा कम क्षमताका मालवाहक सवारीलाई निश्चित समयमा सञ्चालन गर्न दिने र परिस्थितिअनुसार अन्य सवारीसाधनसमेत सञ्चालन गरिने जनाएको छ।
रसुवामा बाढीका कारण उत्तरगया गाउँपालिका–५ क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। जिल्लाका मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। उक्त सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्लाको बेलकोटगढी नगरपालिका क्षेत्रमा पनि बाढीका कारण सडक प्रभावित भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। थाक्रे गाउँपालिका–९ स्थित सोयाङखोलामा पनि त्रिभुवन राजपथ अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
बेनीघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोला क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।



