Wednesday, September 16, 2026
Homeसामाचारबाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात

काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले भदौ ३१ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको जनाएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सवारी सञ्चालनका लागि विशेष व्यवस्था गरिएको छ। भदौ १६ गतेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।

रसुवाका मुख्य राजमार्गहरू भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी चलाउन नपाइने व्यवस्था गरिएको छ।

नुवाकोटकै पासाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटार मा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

त्यस्तै, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर मा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० को ज्वाङखोलाशीतलबजार क्षेत्रमा पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला मा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेको छ। मर्मतका क्रममा सवारीको चाप र सडकको अवस्थाअनुसार एकतर्फी रूपमा यातायात सञ्चालन गराइएको छ।

यसैगरी, कर्णाली प्रदेशअन्तर्गत हुम्लाको कर्णाली करिडोरमा पर्ने सर्केगाड गाउँपालिका–६ खरीखेत मा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रहरीका अनुसार बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित सडकखण्डमा यातायात सञ्चालनको अवस्था समय–समयमा परिवर्तन हुन सक्ने भएकाले यात्रुले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आवश्यक छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका