नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको देवीघाट क्षेत्रमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का स्वयंसेवकहरू राहत तथा पुनःस्थापनाको काममा जुटेका छन्।
बाढीले देवीघाट बजारका घर, पसल तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि स्थानीयवासी आफ्ना बाँकी रहेका सामान र महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सार्न संघर्ष गरिरहेका छन्। देवीघाटमा बाढी र लेदोका कारण धेरै घर तथा संरचना क्षतिग्रस्त भएका छन्।
यसैक्रममा नेविसंघका स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई आवश्यक सहयोग गर्नुका साथै बाढीबाट क्षतिग्रस्त घर तथा संरचनाबाट सामान निकाल्ने र सुरक्षित स्थानमा सार्ने काम सुरु गरेका हुन्।
बाढी प्रभावित स्थानीयहरू पनि भग्नावशेषमा परिणत भएका घरबाट लत्ताकपडा, कागजात, पुस्तक, भाँडाकुँडा तथा अन्य उपयोगी सामान निकाल्ने प्रयास गरिरहेका छन्।
विपद्पछि उद्धारसँगै प्रभावित परिवारको सामान सुरक्षित गर्न तथा दैनिक जीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउन स्वयंसेवकहरूको सहयोग महत्वपूर्ण बनेको छ। देवीघाटसहित नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अहिले सडक तथा भग्नावशेष सफा गर्ने, पीडितका सामान निकाल्ने र राहत व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ।
नेविसंघले यसअघि पनि बाढी प्रभावित विद्यार्थीको शैक्षिक पुनःस्थापनाका लागि सहयोग गर्ने घोषणा गरेको थियो।


