काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।
कोशी प्रदेशको भोजपुरमा मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ । इलाममा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा वैकल्पिक सडकको व्यवस्था रहेको बताइएको छ ।
बागमती प्रदेशका सडकमा वर्षाका कारण बढी जोखिम देखिएको छ । काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिनेछ ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडक खण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पहिरो तथा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेशको लमजुङस्थित बेँसीसहर–मनाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ । बागलुङको कालीगण्डकी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडक खण्ड पहिरो तथा बाढीका कारण एकतर्फी सञ्चालनमा रहेका छन् ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडक खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा वर्षाका कारण जोखिम बढेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


