काभ्रेपलाञ्चोक: अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले माप्तीस्थित डाइभर्सन बगाएपछि बीपी राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको छ। उक्त डाइभर्सन बगाएको झण्डै आठ घण्टा भइसक्दा पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार रोशी गाउँपालिका–१२ मा पर्ने मङ्गलटारतर्फको सडकखण्डमा बाढीले थप क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको हो। हाल प्रहरी र स्थानीयको सहयोगमा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।
गत असोजको बाढीले डाइभर्सन बगाएपछि त्यही स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो। अहिलेको बाढीले त्यही डाइभर्सन पुनः बगाएको हो। प्रहरीले राजमार्गमा अलपत्र परेका १७ यात्रुको उद्धार गरेको जनाएको छ।
बाढीले महिलालाई बगाएपछि खोजी कार्य जारी
सोमबार दिउँसोको लगातार वर्षापछि आएको बाढीले पनौती नगरपालिका–५ स्थित सुब्बागाउँकी ३३ वर्षीया रेनुका गिरीलाई बगाएको छ। मेला फर्कने क्रममा साँझ ६ बजे ढलमले खोलाले गिरीलाई बगाएको प्रहरीले जनाएको छ।
सोमबार राति अबेरसम्म खोजीकार्य जारी रहे पनि सफलता नपाएपछि स्थगन गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीको सहकार्यमा पुनः खोजी कार्य सुरु गरिएको डिएसपी घलेले जानकारी दिनुभयो।
सोमबारको वर्षाले पनौती बसपार्क आसपासका क्षेत्र डुबानमा परेका छन् भने बाढीले आलु खेतीसमेत डुबाएको छ।


