काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गर्दै विपद्को समयमा नेपाल एक्लै नरहेको बताएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले नेपाल र नेपाली जनताको साथमा चीन सधैँ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका हुन्।
राजदूत माओमिङका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री लीले बाढीमा ज्यान गुमाएका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। विपद्को यस कठिन घडीमा चीन नेपाल र नेपाली जनताको साथमा रहेको सन्देश उनीहरूले दिएका छन्।
सहयोग हस्तान्तरणका क्रममा राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई चीन सरकारका तर्फबाट २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। त्यस्तै, चिनियाँ रेडक्रसको तर्फबाट प्राप्त २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको थप नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।
यसरी चीन सरकार र चिनियाँ रेडक्रसबाट नेपालले २२ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड ५० लाख रुपैयाँ बराबरको राहत सहयोग प्राप्त गरेको छ।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा देखिएको प्राकृतिक विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए। चीन सरकारले घोषणा गरेका अन्य आपत्कालीन राहत सामग्रीसमेत नेपाल ल्याउन सुरु गरिएको उनले जानकारी दिए।
उनका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ विमानमार्फत ५० टन पाल, कम्बल, स्लिपिङ ब्याग, मेडिकल किट र खाद्यान्न काठमाडौं ल्याइएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार थप राहत सामग्री पठाइने उनले बताए।
यसैबीच, बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउने पहल पनि भइरहेको छ।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा प्राविधिकको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष प्राविधिक टोली नेपाल आइपुगेको जनाइएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा ठूलो परिमाणमा राहत सामग्री ढुवानी गर्न सक्ने क्षमताका ड्रोन उपलब्ध गराउने प्रक्रिया पनि तीव्र पारिएको बताइएको छ।
बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई चीनले राहत, उद्धार तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।


