बाजुरा — आगामी निर्वाचनलाई लक्षित गर्दै बाजुरामा सात वटा नयाँ मतदानस्थल थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय बाजुराले मंसिर १४ गते केलेको सिफारिसको आधारमा निर्वाचन आयोगले नयाँ मतदानस्थल थपेको हो।
स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दा नगरपालिकामा नयाँ मतदानस्थल स्थापना भएका छन्।
स्वामीकार्तिक खापर–१ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा–३ को जुकोटलाई विभाजन गरी शम्भुशुनन्दा मावि जुकुमा मतदानस्थल राखिएको छ।
यससँगै बुढीनन्दा–३ मा मदन आश्रित आवि बड्डाला, हिमाली–१ मा शुनन्दा आवि बाम, वडा–५ मा कुलामष्टाजन आवि क्युरी र वडा–६ मा खोलीकोट आवि पाडीमा पनि नयाँ मतदानस्थल थपिएका हुन्।
थपिएको स्थानसहित जिल्लामा अब मतदानस्थलको कुल संख्या ७७ पुगेको छ भने मतदान केन्द्र ११२ रहेका छन्। सोही क्रममा जिल्लाभित्र ६ मतदानस्थल स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतले जानकारी दिए।
स्थानान्तरण अनुसार, बुढीनन्दा–३ को सिराडी मतदानस्थल कालीका मावि भुलेनामा, त्रिवेणी–८ को नवदुर्गा आवि झालगाउँ ढडाली स्वास्थ्य केन्द्रमा सारिएको छ। साथै, बुढीगंगा–२, ३, ५ र ९ का मतदानस्थल सम्बन्धित वडाकार्यालयमा सारिएका छन्।
बाजुरामा हाल ८६ हजार ५५७ मतदाता छन्। जसमा ४१ हजार ९२० महिला, ४४ हजार ५३५ पुरुष र अन्य २ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ। असोज १० देखि मंसिर ५ सम्म १ हजार ५१६ नयाँ मतदाता थपिएका थिए।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन म्याद कात्तिक मसान्तसम्म तोकिए पनि उत्साहजनक सहभागिता देखिएकाले आयोगले म्याद बढाएर मंसिर ५ सम्म पुर्याएको थियो।


