बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदातालाई सही तरिकाले मताधिकार प्रयोग गर्न सक्षम बनाउन जिल्लाका नौवटै स्थानीय तहमा अभियान तीव्र पारेको हो।
निर्वाचनको माहोल तातिँदै जाँदा जिल्लाका हरेक वडा र गाउँबस्तीमा मतदाता शिक्षकहरू सक्रिय देखिएका छन्। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षक नियुक्त गरी मतदान प्रक्रिया, मतपत्रमा सही छाप लगाउने तरिका, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानी तथा मतदान समयबारे घरदैलोमै पुगेर जानकारी दिइँदैछ।
बडीमालिका नगरपालिका–७ का स्थानीय मनसुर पाध्यायले मतदाता शिक्षकबाट प्रत्यक्ष जानकारी पाएपछि ढुक्क भएर मतदान गर्न सक्ने विश्वास बढेको बताए। उनका अनुसार यसअघि यस्ता कार्यक्रम नहुँदा केही अन्योल रहने गरे पनि अहिले घरमै सिक्ने अवसरले सहजता थपिएको छ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन भइरहेको छ। यसले बदर मत घटाउने र निर्वाचन प्रक्रिया थप व्यवस्थित बनाउने अपेक्षा गरिएको उनले बताए।
निर्वाचनका लागि आवश्यक मतपत्रसहित सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेको छ। बाजुरामा एक स्वतन्त्र उम्मेदवारसहित सात दल चुनावी प्रतिस्पर्धामा छन्। जिल्लाका ७७ मतदानस्थलमा ११८ मतदान केन्द्र तोकिएका छन्।
तीमध्ये ६२ मतदान केन्द्र अतिसंवेदनशील, १२ संवेदनशील र बाँकी सामान्य श्रेणीमा वर्गीकृत गरिएका छन्। जिल्लामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन्, जसमध्ये ४२ हजार ४३१ महिला, ४२ हजार ४२८ पुरुष र दुई जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


