बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरामा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा उक्त अभ्यास गरिएको हो।
नमुना मतदानमा २५ पुरुष र १४ महिला गरी कुल ३९ जनाले सहभागिता जनाएका थिए। सहभागीहरूले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत मतदान अभ्यास गरेका थिए। जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने निर्वाचनको तयारी सुदृढ बनाउन नमुना मतदान आयोजना गरिएको जनाएको छ।
कार्यक्रममा मतदाता व्यवस्थापन, सुरक्षाकर्मी परिचालन, राजनीतिक दलका प्रतिनिधिको समन्वय, निर्वाचन कर्मचारीको भूमिका तथा बुथ कब्जा नियन्त्रणजस्ता पक्षहरूको अभ्यास गराइएको थियो। निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार यसले बदर मत घटाउन र मतदान प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जिल्लामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन् भने एक हजार चार सयभन्दा बढी अस्थायी मतदाता छन्। बाजुरामा ११८ स्थायी मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र तोकिएको छ।
जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ६२ मतदान केन्द्र अतिसंवेदनशील, १२ संवेदनशील र तीन सामान्य श्रेणीमा वर्गीकृत गरिएको छ।
यसैबीच, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि तीन दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ। फागुन १४ देखि १६ गतेसम्म सञ्चालन हुने तालिममार्फत निर्वाचन प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।


