Saturday, July 18, 2026
Homeस्वास्थ्य र जीवनशैलीबाजुरामा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर: ३७० भन्दा बढी लाभान्वित

बाजुरामा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर: ३७० भन्दा बढी लाभान्वित

बाजुरा । बाजुरा जिल्लाका चार वटा स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरबाट ३७० भन्दा बढी व्यक्तिहरू लाभान्वित भएका छन्। जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा तथा सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य कार्यालय बाजुराद्वारा शिविर आयोजना गरिएको हो।

उक्त शिविर त्रिवेणी, बुढीगंगा, खप्तड छेडेदह र गौमुल गाउँपालिकामा सञ्चालन गरिएको थियो। चैत्र २६ देखि २९ गतेसम्म चलेको शिविरमा मधुमेह, रक्तचाप तथा नाडी (पल्स) परीक्षण गरिएको थियो। साथै लक्षणका आधारमा अन्य रोगहरूको पहिचान गरी आवश्यक औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको थियो।

जटिल रोग भएका बिरामीहरूलाई थप परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रेषणसमेत गरिएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले जानकारी दिए। ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर प्रभावकारी बनेको उनले बताए।

ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको हो। गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीयवासीहरू खुसी भएका छन्। आगामी दिनमा अन्य पालिकाहरूमा पनि यस्ता शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका