Sunday, July 5, 2026
Homeसामाचारबाजुराको बाम्का बजारमा भीषण आगलागी, ३० भन्दा बढी पसल जलेर नष्ट —...

बाजुराको बाम्का बजारमा भीषण आगलागी, ३० भन्दा बढी पसल जलेर नष्ट — राहत मागको निर्णय

बाजुरा, २४ जेठ: बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भएको भीषण आगलागीबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय सरोकारवाला निकायहरूले प्रदेश र संघीय सरकारसँग माग गरेका छन्।

नवदुर्गा होटलमा ग्यास सिलिण्डर पड्किँदा सुरु भयो आगलागी
नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको थियो। प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार, आगलागीले ३० वटा खुद्रा तथा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ती सबै पसलहरू स्थानीयको टिनले छाएका संरचना थिए।

सरकारी टोलीको अनुगमन र राहत मागको निर्णय
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको नेतृत्वमा घटनास्थलको निरीक्षण गरिएको छ। निरीक्षणपश्चात पीडितको तत्काल राहतका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पाध्याले भने, “प्रहरीमार्फत क्षतिको विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट आवश्यक राहतका लागि औपचारिक माग गरिनेछ।”

सरोकारवालाहरूको आकस्मिक बैठक
घटनापछि पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायहरूको आकस्मिक बैठक बस्यो। बैठकले पीडितको क्षतिको विवरण सङ्कलन गर्ने, र सो आधारमा विपद् प्राधिकरण, प्रदेश तथा स्थानीय तहहरू र विभिन्न संघसंस्थासँग राहत तथा पुनःस्थापनाका लागि आग्रह गर्ने निर्णय गरेको हो।

उक्त बैठकमा बुढीगङ्गा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापा लगायतको सहभागिता रहेको थियो। बैठकले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय पनि गरेको छ।

दमकलको अभावले आगलागी नियन्त्रणमा कठिनाइ
जिल्लामा भएका ९ वटै पालिकाहरूले गाडी खरिद गरे पनि दमकल नहुँदा आगलागी नियन्त्रणमा चुनौती रहेको पाइएको छ। प्रारम्भिक अनुमानअनुसार, उक्त आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका