काठमाडौं। काठमाडौं महानगरपालिकाले बागमती नगर जग्गा एकीकरण आयोजनाअन्तर्गत सम्पन्न भएका काम, त्यसको प्रभाव, लाभ–लागत तथा बाँकी दायित्वसम्बन्धी विस्तृत प्रतिवेदन ४५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको आयोजना व्यवस्थापन उपसमितिको ३३औँ बैठकले अधुरा पूर्वाधार र सेवा प्रवाहका कारण स्थानीयवासीले समस्या भोगिरहेको निष्कर्ष निकाल्दै तथ्यमा आधारित प्रतिवेदन तयार गरी बाँकी काम शीघ्र सम्पन्न गर्ने निर्णय गरेको हो।
बैठकमा डंगोलले पटक–पटक आयोजना अवधि थप्नेभन्दा अधुरा काम सम्पन्न गरी जग्गा सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले प्रतिवेदनमा कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षसमेत समेट्न निर्देशन दिइन्।
बैठकमा वडा नम्बर ६ र ८ का जनप्रतिनिधि तथा जग्गाधनीका प्रतिनिधिहरूले खानेपानी, ढल र सडकलगायतका आधारभूत पूर्वाधार अझै पूर्ण रूपमा सम्पन्न नभएको तथा आयोजना ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको गुनासो गरेका थिए।
आयोजनाका अनुसार हालसम्म वडा नम्बर ६ मा ९१.८२ प्रतिशत र वडा नम्बर ८ मा ९५.२ प्रतिशत विकसित घडेरीको स्थायी लालपुर्जा वितरण भइसकेको छ। अधिकांश सडक ढलान, ढल निर्माण, सडकबत्ती जडान तथा खानेपानी पाइप विस्तारको काम पनि सम्पन्न भइसकेको जानकारी बैठकमा दिइएको थियो।
यसैबीच, बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट स्वीकृत गर्दै बाँकी निर्माण कार्यलाई तीव्रता दिने र आयोजना व्यवस्थित रूपमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ।


