पोखरा – अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक पर्यटकको पासपोर्ट बाँदरले लगेको छ।
पर्वतको बन्जी जम्प नजिक गाडीको छतमा राखिएको पासपोर्ट बाँदरले लिएर भिरतिर भागेको पर्यटकले बताए। अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोही झोलामा रहेको पासपोर्ट बाँदरले लगेको छ।
पासपोर्ट हराएको जानकारी पाएपछि खोजीका लागि प्रहरी खटाइएको पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले जानकारी दिए। उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि भेटिएको छैन। उनले भने, “हिजो उनीहरू मुक्तिनाथ जान गाडीमा निस्किनुभएको रहेछ। कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ। फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको हो।”
खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको थियो। डीएसपी यादवले भने, “हिजो सई सावको नेतृत्वमा ७ जना टोली पठाएका थियौँ। आज सशस्त्र टोली पनि गएको छ। तर अहिलेसम्म भेटिएको छैन। जङ्गलतिर होला भनेर खोजी भइरहेको छ। भीरहरू छ, छिर्नै गाह्रो छ।”
उक्त पासपोर्टसहितको झोला नभेटिएपछि पर्यटकहरूले प्रहरीमा निवेदन पनि दर्ता गरेका छन्। प्रहरीका अनुसार खोजी कार्य जारी छ। डीएसपी यादवले भने, “खोज्नका लागि सक्दो प्रयास गरिरहेका छौँ। यदि पाइएन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्छ।”


