काठमाडौँ- औसत हिसाबले अबको १५ दिनभित्र मनसुन बहिर्गमन हुनुपर्ने भए पनि हाल मनसुन फेरि सक्रिय बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको कारण हाल मनसुन सक्रिय छ। सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने भए पनि यसपटक निर्धारित समयमा बहिर्गमन हुन्छ वा हुँदैन भन्नेबारे अहिल्यै निश्चित भन्न नसकिने उनले बताए।
आज देशभर मौसम सामान्यतया बदली रहने र बागमती तथा लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, कर्णालीका पहाडी क्षेत्र र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यससँगै नदी–नाला तथा स–साना खोलाहरूमा पानीको बहाव बढ्ने चेतावनीसमेत दिइएको छ। बाढीविद् विनोद पराजुलीका अनुसार दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी पूर्व–पश्चिम, डोटी, कैलालीलगायत जिल्लाका स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
त्यस्तै, इलाम, झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, गुल्मी, बाँके, बर्दिया, दाङ, सुर्खेत, कञ्चनपुर, बैतडी, दार्चुलालगायतका जिल्लामा पनि स–साना नदीहरूमा आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको जनाइएको छ। विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।


