Thursday, September 17, 2026
Homeसामाचारबर्डफ्लुको हल्लाले किसान मारमा, सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आशिका तामाङको माग

बर्डफ्लुको हल्लाले किसान मारमा, सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आशिका तामाङको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बर्डफ्लुको हल्लाका कारण देशभरका बोइलर कुखुरा पाल्ने किसान गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु र अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताइन्।

‘देशका विभिन्न स्थानका बोइलर कुखुरा पालन गर्ने किसानले बजारमा फैलिएको बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्या भोगिरहेको जानकारी दिएका छन्। यसले कुखुराको मासु तथा अण्डाको माग घट्ने, मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भनिन्।

सांसद तामाङले बर्डफ्लु पुष्टि हुने प्रक्रिया चलिरहेकै अवस्थामा नेपाल टेलिकमको रिङटोनमार्फत किसानलाई थप क्षति पुग्ने किसिमको सूचना प्रसारण गरिएको भन्दै त्यसप्रति आपत्ति जनाइन्।

उनले प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएको आधारमा सूचना जारी गरिएको हो वा केवल आशंकाका आधारमा यस्तो सन्देश प्रवाह गरिएको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याइन्।

‘संक्रमण पुष्टि हुने प्रक्रिया नै चलिरहेका बेला नेपाल टेलिकमको रिङटोनमार्फत किसानलाई थप मार पर्ने सूचना प्रसारण गरियो। यो सूचना वास्तविक प्रयोगशाला परीक्षणका आधारमा जारी गरिएको हो कि केवल आशंकाका आधारमा, सरकारले स्पष्ट गर्नुपर्छ,’ उनले भनिन्।

सांसद तामाङले यदि बर्डफ्लु संक्रमण पुष्टि भएको हो भने त्यसको नियन्त्रण, रोकथाम तथा किसानको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिन्। साथै, सत्यतथ्यमा आधारित सूचना प्रवाह गरी किसानको मेहनत, लगानी र जीविकोपार्जन अनावश्यक रूपमा जोखिममा पर्न नदिन सम्बन्धित निकायले संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका