Saturday, November 7, 2026
Homeसामाचारबढैयातालमा आगन्तुक चराको चहलपहल, पर्यटक आकर्षण बढ्दै

बढैयातालमा आगन्तुक चराको चहलपहल, पर्यटक आकर्षण बढ्दै

बर्दिया — बर्दियाको बढैयातालमा चिसो मौसम सुरु भएसँगै साइबेरियालगायत विभिन्न क्षेत्रबाट बसाइँ सरेर आएका आगन्तुक चराहरूको चहलपहल बढेको छ। बर्दियामा चिसोयाममा सबैभन्दा बढी आगन्तुक चरा देखिने स्थलका रूपमा चिनिएको बढैयातालमा अहिले चराहरू रमाइरहेका दृश्य अवलोकन गर्न सकिन्छ।

तालको पानीमा पौडी खेल्दै, आहार खोज्दै र विचरण गरिरहेका प्रशस्त चराहरू देख्न सकिन्छ। विशेषगरी सुनजुरे, हरि, बेल्चाठुँडे, खड्खडे, फुर्के, सिन्दुरे, हरियो टाउको हाँस तथा बिजुला गौरीजस्ता पानीमा रमाउने चराहरू बढैयातालमा नियमित रूपमा देखिन थालेका छन्।

चराविद् रामबहादुर शाहीका अनुसार हाल बढैयातालमा रैथाने र आगन्तुक गरी प्रशस्त प्रजातिका चराहरूको उपस्थिति रहेको छ। अनौपचारिक अनुगमनका क्रममा यस वर्ष ५० भन्दा बढी प्रजातिका चराहरू देखिएको उनले जानकारी दिए।

गत वर्ष गरिएको चरा गणनामा बढैयातालमा सबैभन्दा बढी २,१४९ वटा चरा फेला परेका थिए। त्यतिबेला एक बच्चासहित तीन वटा सारस पनि देखिएका थिए। सारस विश्वमै संवेदनशील प्रजातिको सूचीमा परेको चरा हो भने नेपालमा पनि संकटासन्न चराको रूपमा वर्गीकृत गरिएको छ।

चिसो बढ्दै जाँदा आगन्तुक चराको संख्या थप बढ्ने चराविद् शाहीले बताए। आगन्तुक चरा बढेसँगै तालमा चरा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि क्रमशः वृद्धि हुन थालेको छ। निकुञ्ज घुम्न आउने पर्यटकहरू समेत बढैयाताल पुगेर चरा अवलोकन गर्न थालेका छन्।

बढैयाताल गाउँपालिका–५ का वडाध्यक्ष तुलाराम थारूले तालमा आगन्तुक चराहरूको आगमन बढ्दै गएको बताए। पर्यटकहरूको चहलपहल बढेपछि ताल क्षेत्र थप सक्रिय बनेको उनको भनाइ छ।

१०९ बिघा क्षेत्रफलमा फैलिएको बढैयातालको गहिराइ तीनदेखि सात फिटसम्म रहेको स्थानीयवासीहरू बताउँछन्। केही वर्षअघिसम्म ठेक्कामार्फत माछापालन गरिँदै आएको तालमा हाल संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। बढैयाताल गाउँपालिकाको पहलमा विभिन्न निकायले ताल संरक्षण तथा सुधारका लागि लगानी गरिरहेका छन्।

नेपालमा कुल ८९७ प्रजातिका चरा पाइनेमा करिब २०० प्रजाति जलपक्षी रहेका छन्। तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब १५३ प्रजातिका चराहरू बसाइँ सरेर आउने गर्छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका