Saturday, November 7, 2026
Homeसामाचारबञ्चरेडाँडामा ‘लिच्चड’ समस्या यथावत, सम्झौताका काम अघि बढेन

बञ्चरेडाँडामा ‘लिच्चड’ समस्या यथावत, सम्झौताका काम अघि बढेन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लिच्चड (फोहोरबाट निस्कने विषाक्त तरल पदार्थ) को समस्या अझै समाधान हुन सकेको छैन। फोहोर व्यवस्थापन र प्रभावित क्षेत्रका माग सम्बोधनका लागि सरकारी पक्ष र स्थानीयबीच सहमति भए पनि लिच्चड व्यवस्थापनको वास्तविक काम सुरु नभएको स्थानीयले बताएका छन्।

रातोपाटीसँगको कुराकानीमा स्थानीय प्रतिनिधिहरूले बञ्चरेडाँडामा लिच्चड निरन्तर बगिरहेको र यसको व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको जानकारी दिए।

‘सहमति कागजमै सीमित’

स्थानीयको आन्दोलनपछि मंसिर ४ गते सरकारसँग गरिएको सम्झौतामा लिच्चड व्यवस्थापनदेखि प्रभावित क्षेत्रका माग सम्बोधनसम्मको विषय समेटिएको थियो। तर, कार्यान्वयन पक्ष कमजोर देखिएको स्थानीय विश्वास ढुंगानाले बताए। उनका अनुसार, एउटा प्राविधिक टोलीले अनौपचारिक निरीक्षण गरे पनि आधिकारिक रूपमा कुनै काम अघि बढेको छैन।

ढुंगानाले भने, “फोहोर व्यवस्थापन र लिच्चड नियन्त्रण गर्ने भनिए पनि ती कुरा कागजमै सीमित भए। अहिले पनि लिच्चड बगिरहेकै छ, सम्झौता अनुसार काम सुरु भएको छैन।”

महानगर र मन्त्रालयबीच समन्वय आवश्यक

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार लिच्चड व्यवस्थापन दीर्घकालीन प्रक्रिया भएकाले ठूलो बजेट, समय र पूर्वाधार आवश्यक पर्छ। “आज–भोलिमै लिच्चडको ठाउँमा सफा पानी बग्दैन। यसको समाधानका लागि काम भइरहेको छ,” उनले भनिन्।

कार्यदल गठनको तयारी

सहरी विकास मन्त्रालयका एक अधिकारीका अनुसार सम्झौता कार्यान्वयनको प्रगति मूल्यांकन गर्न र आगामी रणनीति तय गर्न विज्ञसहितको कार्यदल गठनको तयारी भइरहेको छ। कार्यदलले विगतका सबै सम्झौता र अवस्थालाई समेटेर विस्तृत प्रतिवेदन तयार पार्नेछ। त्यसपछि फोहोर व्यवस्थापनका विषयमा मन्त्रीस्तर वा मन्त्रिपरिषद् स्तरबाट निर्णय गर्ने भन्ने टुंगो लाग्ने बताइएको छ।

स्थानीयका अनुसार सम्झौतामा उल्लेख भएअनुसार एक महिनाभित्र जग्गा नापजाँच, बालीनाली क्षतिपूर्ति लगायतका प्रक्रियाहरू सुरु हुनुपर्ने भए पनि अहिलेसम्म कुनै कदम नचालिएकोले उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका