काठमाडौं। भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्न व्यक्तिहरूको अनुसन्धान र कारबाहीका लागि नेपाल सरकारका संयन्त्रहरूलाई प्रतिवेदन कुर्न आवश्यक नभएको जनाएको छ।
आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ कि आयोगले कार्यादेशअनुसार रायसहितका प्रतिवेदन पाइसकेपछि सरकारले कानुनबमोजिम आवश्यक कदम चाल्नेछ। गृह मन्त्रालयले यही असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ।
विज्ञप्तिमा आयोगलाई भौतिक र मानवीय क्षतिसँग सम्बन्धित सूचना तथा निवेदन विश्लेषण गरी कारबाहीका लागि आवश्यक राय दिने कार्यादेश रहेको स्मरण गराइएको छ।
जेनजी प्रदर्शनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा भएका क्षतिसँग सम्बन्धित यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न उक्त आयोग गठन गरिएको हो। आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरिसकेको छ।
रासस



