Tuesday, July 7, 2026
Homeअन्तराष्ट्रियप्रेमीसँग मिलेर श्रीमानको हत्या: छतबाट धकेलेपछि अस्पतालमै सलाइनमा रसायन मिसाएको आरोप

प्रेमीसँग मिलेर श्रीमानको हत्या: छतबाट धकेलेपछि अस्पतालमै सलाइनमा रसायन मिसाएको आरोप

काठमाडौं । भारतको तेलङ्गाना राज्यमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको योजनाबद्ध हत्या गरेको आरोपमा पक्राउ परेकी छन्। प्रहरीले ३२ वर्षीया सन्ध्या, उनका प्रेमी अनिल र उनका साथी वेङ्कट साईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार घटना निजामाबाद जिल्लाको मोपाल मण्डलस्थित न्यालाकल गाउँमा भएको हो। ३५ वर्षीय प्रशान्त केही समयअघि मात्रै खाडी मुलुकबाट स्वदेश फर्किएका थिए। घर फर्किएपछि उनले श्रीमतीको विवाहेत्तर सम्बन्धबारे थाहा पाएपछि दम्पतीबीच विवाद बढ्दै गएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानअनुसार गत जुन ३० मा तीनै आरोपीले प्रशान्तलाई अत्यधिक मदिरा सेवन गराएर कुटपिट गरेका थिए। त्यसपछि उनलाई घरको छतबाट धकेलेर हत्या गर्ने प्रयास गरिएको थियो। तर गम्भीर घाइते भए पनि उनी जीवित रहेपछि आरोपीहरूले उनी आफैँ लडेको भन्दै अस्पताल पुर्‍याएका थिए।

प्रहरीको दाबीअनुसार अस्पतालमा उपचारका क्रममा पूर्वनर्ससमेत रहेकी सन्ध्याले आफ्नो चिकित्सकीय ज्ञानको दुरुपयोग गर्दै श्रीमान्को सलाइनमा ट्वाइलेट क्लिनर (हार्पिकजस्तै रासायनिक पदार्थ) र बेहोस बनाउने औषधि (एनेस्थेसिया) मिसाएकी थिइन्। त्यसपछि विषाक्त पदार्थ शरीरमा फैलिएर प्रशान्तको मृत्यु भएको आरोप छ।

घटनापछि मृतककी आमाले बुहारीको व्यवहारमाथि शंका गर्दै जुलाई १ मा प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

पोस्टमार्टम प्रतिवेदनपछि घटनाको वास्तविकता खुलेको प्रहरीको भनाइ छ। सोधपुछका क्रममा मुख्य आरोपी सन्ध्याले आफ्नो संलग्नता स्वीकार गरेको तथा वेङ्कट साईले पनि पहिलो पटक छतबाट धकेलेर हत्या गर्ने प्रयासमा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

तीनै आरोपीलाई अदालतमा उपस्थित गराइएको छ भने अदालतले उनीहरूलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका