काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारमाथि कुटपिट गरेपछि उनी कारबाहीमा परेका छन्।
बुधवार सडकमै साहले सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङका अनुसार कुटपिट गर्ने इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको छ र उनीमाथि छानबिन सुरु गरिएको छ। साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ल्याइएको छ र अनुसन्धानपछि थप कारबाही प्रक्रिया अघि बढाइने तामाङले बताए। घटना बुधवार दिउँसो भएको हो।
कुटपिटमा परेका सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत छन् भने इन्स्पेक्टर साह त्यही ट्राफिक प्रहरी वृत्तका प्रमुख हुन्।


