काठमाडौं: काठमाडौंको ठमेलमा प्रहरी कुटपिट गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन्।
सत्तारूढ दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका पाँच विद्यार्थी नेताहरूलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनीहरू रिहा भएका हुन्।
अदालतले रमेश फुलारालाई रु. १५,००० तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, र दिनेश सिग्देललाई जनही रु. १०,००० धरौटीमा छाड्न आदेश दिएको थियो।
जोशी अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्वअध्यक्ष हुन्।
उनीहरू प्रहरी वृत्त, दरबारमार्ग अन्तर्गत केशरमहल बिटमा खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए।
आक्रमणबाट गम्भीर घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरिएको थियो। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै, जवान विष्टको आँखामा तथा शरीरका अन्य भागमा सामान्य चोट लागेको छ।


