काठमाडौँ । महिलाले अवसर पाए जे गर्न पनि सक्षम छन् भन्ने उदाहरण नेपाल महिला प्रहरीले दिएका छन्।
नेपाल प्रहरीमा अहिले ३ जना महिला अधिकृत उच्च तहमा पुगी कार्यरत छन् । प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह प्रहरी अस्पताल प्रमुखमा छिन् ।
त्यस्तै, जनपदतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक दर्जामा मीरा चौधरी र किरण बज्राचार्य कार्यरत छन् । चौधरी प्रशासन विभाग प्रमुख हुन् भने बज्राचार्य केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा छिन् ।
त्यसैगरी, पूजा सिंह जनपदतर्फ उच्च तहमा पुग्ने पहिलो महला एआईजी हुन् । उनी २०७९ फागुन ३ मा सेवा निवृत्त भइन् । ५६ वर्षीय उमेर हदका कारण उनले अवकाशमा पाएकी हुन् ।
डा. दुर्गा थापा प्राविधिकतर्फ उच्च तहमा पुग्ने अर्की महिला अधिकृत हुन् । प्रहरी अतिरिक्त महानिरीक्षकबाट अवकाश पाएकी डा.दुर्गाले पनि नेपाल प्रहरी अस्पतालको नेतृत्व गरिन् ।
नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा पुग्ने पहिलो महिला अधिकृत हुन्, पार्वती थापा मगर । उनले डीआईजीबाट नै अवकाश पाइन् । विमला थापाले पनि डीआईजीमा अवकाश पाएकी हुन् ।
जनपद तर्फ दुर्गा सिंह र किरण राणा अहिले डीआईजी पदमा कार्यरत छन् । प्राविधिक तर्फ सूचना प्रविधि निर्देशनालयको प्रमुख (डीआईजी) सम्म भइन्, शिला कंशाकार । कंशाकार अहिले सेवा निवृत्त भइसकेकी छन् ।
प्राविधिक तर्फ प्रहरी अस्पतालमा अहिले डा. सञ्जिता घिमिरे दाहाल, डा.दिवा शर्मा र डा. संज्ञा मल्ल प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत छन् ।
नेपाल प्रहरीमा कुल ८ हजार ९ सय ५ जना महिला कर्मचारी छन् । अफिसर दर्जामा १ हजार ६६ जना कार्यरत छन् । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) जुनियर अफिसरमा पर्छन् । इन्स्पेक्टर भन्दा माथि सिनियर अधिकृत हुन् । प्रहरीमा ११ दशमलव ६७ प्रतिशत महिला कार्यरत रहेको प्रहरी प्रवक्ता (डीआईजी) भीम ढकालले बताए ।


