काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई जिम्मेवार भएर मतदान गर्न आग्रह गरेकी छन्।
मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नवलपुर (पूर्वी नवलपरासी)को हात्तिखोर पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तरक्रियामा यस्तो आह्वान गरेकी हुन्।
उनले भनिन्, “यो चुनाव नियमित चुनाव होइन, यो विशेष चुनाव हो। तपाईंहरू शान्तिका लागि मतदान गरिदिनुहोस्। यो एउटा खुट्किला हो, जसलाई जसरी पनि पार गर्नुपर्छ। व्यक्तिको जित–हार दोस्रो कुरा हो, पहिले देशलाई जिताऔँ। देशको शान्ति र रूपान्तरणका लागि हामी सबै एक ठाउँमा उभिएर सङ्कल्प गर्नुपर्ने बेला आएको छ।”
प्रधानमन्त्री कार्कीले शान्ति र सुव्यवस्था कायम भए सबैलाई अवसर प्राप्त हुने उल्लेख गर्दै चुनावलाई साझा दायित्वका रूपमा लिन आग्रह गरिन्।
दीक्षान्त कवाजको औपचारिक कार्यक्रमपछि प्रधानमन्त्री कार्कीले विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि र सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेकी थिइन्। यस क्रममा उनले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी थिइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखी काम गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएकी छन्।


