काठमाडौं, असार १४: प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (FfD-4) मा सहभागी हुन स्पेन प्रस्थान गर्दै छन्। उनी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन्।
स्पेनको सेभिल्ला सहरमा आयोजना हुने यो सम्मेलन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको हो। सम्मेलन असार १६ देखि १९ गतेसम्म चल्नेछ।
यस सम्मेलनमा विश्वभरका सरकार प्रमुख, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्रसंघ प्रणालीका सरोकारवाला सहभागी हुनेछन्। सम्मेलनमा नेपालले अल्पविकसित, साना द्वीप राष्ट्रहरूको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती मुलुकहरूको आवाज बुलन्द बनाउने तयारी गरेको छ। साथै, विकसित राष्ट्रहरूले गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका विषयमा समेत छलफल हुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा स्पेनका समकक्षी प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै, विश्वका अन्य राष्ट्र नेताहरूसँग साइडलाइन बैठकहरू हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्नेछन् र असार २० गते शुक्रबार साँझ ४:४५ बजे स्वदेश फर्कने कार्यक्रम छ। यो उच्चस्तरीय भ्रमणबाट विकसित राष्ट्रबाट नेपालमा लगानी बढ्ने र स्पेनलगायत युरोपेली पर्यटक नेपालप्रति आकर्षित हुने विश्वास गरिएको छ।
प्रधानमन्त्रीको भ्रमणमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। प्रतिनिधिमण्डलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रमूख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, शिष्टाचार महापाल कुमारराज खरेललगायत छन्।
यसका साथै, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि भ्रमणमा सहभागी हुनेछन्। काठमाडौंबाट २१ र स्पेन तथा न्यूयोर्कस्थित नियोगमार्फत आठ जना गरी कुल २९ जना नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुनेछन्।


