Friday, June 19, 2026
Homeकोरोना बिशेषप्रतीक्षा खोपको

प्रतीक्षा खोपको

दिनेश गौतम / काठमाडौं, शिवराज भट्ट/धनगढी, कृष्णमणि बराल/पोखरा, हरिबहादुर लम्जेल/धनकुटा,राजकरण महतो/जनकपुरधाम : सरकारले सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको वर्ष नाघ्यो। झन्डै ६५ प्रतिशत नेपालीको नजर अझै खोपमा छ।

कुल जनसंख्याको झन्डै ७२ प्रतिशतलाई खोप लगाउने सरकारी लक्ष्य छ। तर, ७ प्रतिशतले मात्र पूरा डोज खोप पाएको सरकारी तथ्यांक छ। झन्डै १५ प्रतिशतले पहिलो डोज लगाएका छन्।
खोपमा परनिर्भर हुनुपरेका कारण अभियान कहिले सम्पन्न हुन्छ भन्ने यकिन नरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम बताउँछन्। भन्छन्, ‘पहिले पर्याप्त मात्रामा सबैलाई पुग्ने खोप आवोस्। अनि, मात्र यकिनसाथ भन्न सकिएला।’

दक्षिण एसियामा खोप लगाउनेमा नेपाल दोस्रो मुलुक हो। खोप उत्पादक राष्ट्र भारतपछि नेपालमा खोप अभियान सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ करोडभन्दा बढी खोप भित्रिएको छ। असोज अन्त्यसम्म २ करोड डोज आपूर्ति हुने सुनिश्चित भएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल खोप व्यवस्थापनपछि खोपको कभरेज बढ्दै जाने बताउँछन्। भन्छन्, ‘खोप केन्द्रहरू आवश्यकताअनुसार तीव्र गतिमा बढाउँदै भीडभाड नहुने वातावरण बनाउने प्रयास जारी छ।’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक गरेको कार्ययोजनामा (पुस ÷माघसम्म प्राप्त हुने अनुमान) जम्मा ५ करोड २३ लाख खोप प्राप्त हुने अवस्था रहेको जनाएका छन्।

खोप विज्ञ डा. श्यामराज उप्रेती सुरुमा न्यून परिमाणमा खोप आएकाले थोरै जनसंख्यामा लगाउनु स्वाभाविक भएको बताउँछन्। भन्छन्, ‘अहिले खोप लगातार आइरहेकाले सेवा प्रवाहलाई तीव्रता दिनुपर्छ। खोप केन्द्र बढाएर भीडभाड घटाउनुपर्छ।’

प्रदेशमध्ये सुदूरपश्चिमका ३० लाख लक्षित जनसंख्यामा १ लाख ५२ हजारले मात्रै पूरा डोज पाएका छन्। सुरुमा कोभिसिल्ड लगाएका १ लाख ६७ हजार जनाले दोस्रो डोज पाएका छैनन्। १ लाख ३१ हजार जनाले भेरोसेलको पहिलो डोज मात्रै पाएका छन्। ६ लाख ७३ हजार डोज प्रदेशमा आएको छ। निर्देशनालयका बालस्वास्थ्य स्रोत व्यक्ति मीनराज जोशी भेरोसेल खोप लगातार आइरहेकाले केही दिनमा लगाउनेको संख्या बढ्ने बताउँछन्।

प्रदेश १ का १४ वटै जिल्लामा खोप कार्यक्रम पाँचौं चरणमा चलिरहेको छ। स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार भेरोसेल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ। जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम पनि चलिरहेको छ।

गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा सबै नागरिकले पूर्ण खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा पहिलो डोज  बुधबारसम्म ५ लाख ३५ हजार ७ सय १३ जनाले लगाएका छन्। पूरा डोज १ लाख ७९ हजार २ सय ५५ जनाले पाएका छन्।
सबै उमेर समूहका लागि कोरोना खोप नआएपछि प्रदेश २ मा खोप सञ्चालन गर्न समस्या भइरहेको छ। ५१ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई प्रदेश २ मा खोप लगाइसकिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का खोप अधिकृत भोला पण्डित बताउँछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका