Thursday, October 29, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय एकीकृत रूपमा परिचालन

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय एकीकृत रूपमा परिचालन

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित एकीकृत सुरक्षा योजना २०८२ अनुसार बुधबारदेखि चारवटै सुरक्षा निकाय परिचालन हुने भएका छन्।

सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित हुन लागेका हुन्।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। नेपाली सेना बाहिरी सुरक्षा घेरामा रही समग्र सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ।

नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि जनशक्ति परिचालन गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकताअनुसार सेनाको ‘बेस’ स्थापना गरिने र संयुक्त गस्तीसमेत सञ्चालन हुनेछ।

सेनाले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाअन्तर्गत सेनाले मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्म जिम्मेवारी लिनेछ। साथै विमानस्थल, कारागार तथा अन्य महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले सम्हाल्नेछ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगका अनुसार यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ। यसपटक कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ७७ हजार जनशक्ति परिचालित हुनेछन् भने थप एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।

मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। यसअनुसार दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अति संवेदनशील श्रेणीमा परेका छन्।

सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति परिचालन हुनेछन्। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका