काठमाडौं। निर्वाचन आयोग ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भई ढुवानीका लागि तयार गरिएको छ। बाँकी १० जिल्लाको मतपत्र छपाइ सकिएको भए पनि प्याकिङ कार्य जारी रहेको छ। अब करिब ११ लाख ९९ हजार मतपत्र छाप्न बाँकी रहेको आयोगले जनाएको छ।
हालसम्म डोल्पादेखि सिराहासम्मका ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। अब काठमाडौं उपत्यका आसपासका जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको र आगामी दुई दिनभित्र छपाइ, प्याकिङ तथा ढुवानीको तयारी पूरा गरिने जनाइएको छ। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ।
प्रतिदिन करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छपाइ भइरहेको छ।
समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छापिनेछ। छपाइ सम्पन्न भएका मतपत्र कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका दुर्गम जिल्लामा पठाउन सुरु गरिएको छ भने सहरी तथा सुगम जिल्लामा पठाउने कार्य बाँकी रहेको आयोगले जनाएको छ।


