Thursday, October 29, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचनका लागि ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनका लागि ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

काठमाडौं, माघ २७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरमा छापिँदै आएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कुल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथरका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

यसैगरी इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङका मतपत्र पनि छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। साथै, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी कुल ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ।

छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङ गर्ने कामसमेत सकिएको छ। हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतका मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ। ती मतपत्र प्याकिङ र रुजुसहित ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको आयोगले जनाएको छ। यसअन्तर्गतको मतपत्र छपाइ माघ १६ गते बिहानदेखि सुरु गरिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका