Thursday, October 29, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, ८४ लाखभन्दा बढी छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, ८४ लाखभन्दा बढी छपाइ सम्पन्न

काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ।

आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रत्यक्ष निर्वाचन प्रणालीका लागि कुल दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने जानकारी दिए। हालसम्म छापिएका मतपत्रमध्ये सात हजार १३४ बाकस प्याकिङ गरिसकिएको उनले बताए।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी ३२ जिल्लाका मतपत्र छपाइ तथा प्याकिङ कार्य सम्पन्न भइसकेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु गरिएको थियो। माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

निर्वाचनको पूर्वतयारीअन्तर्गत आयोगले डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यका लागि सम्झौतासमेत गरेको छ। मतदाता शिक्षा प्रभावकारी बनाउन विशेष कार्यक्रम स्वीकृत गर्दै प्रदेशस्तरमा अभिमुखीकरण तथा प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ।

यसैबीच, समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरिएको छ भने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको आयोगले जनाएको छ। साथै निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय अनुगमन समितिलगायत संयन्त्रलाई सक्रिय बनाइएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका