काठमाडौँ, २६ पुस : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी पूरा गरेको छ । आयोगका अनुसार आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिनेछ ।
आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको हालसम्मको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने तथा नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाहरूको भूमिका र जिम्मेवारी आचारसंहितामा स्पष्ट रूपमा व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीलाई निर्वाचनको तयारी, निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायतका विषयमा जानकारी गराउनुभएको हो ।
आयोगले आचारसंहिताको कडाइका साथ पालना गराउन सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूको महत्वपूर्ण भूमिका रहने बताएको छ ।


