काठमाडौं। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारलाई दिइएको प्रचारप्रसारको समय सकिएसँगै अब मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचार गतिविधि गर्न पाइने छैन।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार राति १२ बजेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको थियो। मतदान हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने मौन अवधिमा भाषण, भेला, छलफल, समीक्षा, मत माग्ने कार्य तथा निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक कारोबार गरिएको पाइए उम्मेदवारी खारेज हुने र दोषी व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था छ। आयोगले प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेको छ।
मौन अवधिको उद्देश्य मतदातालाई शान्त, स्वतन्त्र र भयरहित वातावरणमा विवेकपूर्ण निर्णय लिन अवसर प्रदान गर्नु हो। यस अवधिमा निर्वाचन व्यवस्थापन गर्ने निकायले मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन तथा शान्ति–सुरक्षाको अवस्था मूल्यांकन गर्ने कामलाई प्राथमिकता दिनेछन्।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाइसकिएको हुनुपर्छ। साथै एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न वा प्रचारप्रसार गर्न पनि पूर्ण रोक लगाइएको छ। उम्मेदवार वा दलको पक्षमा प्रभाव पार्ने समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नसमेत पाइने छैन।
विश्वका विभिन्न मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने प्रचलन छ। स्वच्छ, निष्पक्ष र प्रभावकारी निर्वाचन सम्पन्न गर्न तथा मतदातालाई सुसूचित र सचेत निर्णयमा पुग्न सहयोग पुर्याउने उद्देश्यले मौन अवधिलाई महत्वपूर्ण मानिएको छ।


