काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले सरकारको कार्यशैली, जीर्ण पूर्वाधार, मानसिक स्वास्थ्य, करार कर्मचारीको रोजगारी तथा प्रधानमन्त्रीको अभिव्यक्तिलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाट ले प्रधानमन्त्रीको अभिव्यक्तिसँग सम्बन्धित विवादमा सभामुखले छिट्टै स्पष्ट निर्णय दिनुपर्ने माग गर्दै लामो समयसम्म अन्योल कायम रहनु संसद्को गरिमाअनुकूल नभएको बताए।
नेपाली कांग्रेसका सांसद निष्कल राई ले इलामका सडकको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै मेची राजमार्गसहित विभिन्न सडक जीर्ण हुँदा बिरामी र सुत्केरीलाई अस्पताल पुर्याउनसमेत कठिन भएको बताए। उनले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत, नदी नियन्त्रण र पूर्वाधार पुनर्निर्माणमा सरकार गम्भीर हुनुपर्ने माग गरे।
नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्ला आत्मदाहका घटनाले युवामा बढ्दो निराशा देखिएको बताइन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल ले मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्दै दक्ष मनोवैज्ञानिकहरूको सहभागितासहित ‘मेन्टल हेल्थ काउन्सिल’ गठन गर्न सरकारसँग माग गरे।
त्यस्तै, नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राई ले १० देखि २५ वर्षसम्म सेवा गरेका करार, अस्थायी तथा दैनिक ज्यालादारी कर्मचारीको रोजगारी जोखिममा परेको भन्दै उनीहरूलाई विस्थापित नगर्न सरकारसँग आग्रह गरे। उनले रोजगारीको अवसर घटाउने निर्णयले सामाजिक समस्या थप गम्भीर बन्न सक्ने चेतावनी दिए।


