काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका १९१ वटा सवारीसाधनमा क्षति पुगेको छ। बाढीमा ती सवारीसाधनका चालक, सहचालक र यात्रुसहित ३४४ जना बेपत्ता भएको महासङ्घले जनाएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट देशभरका नौवटा यातायात कम्पनीका सवारीसाधन प्रभावित भएका हुन्।
महासङ्घका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुगेको छ। उक्त घटनामा ५० जना मजदुर बेपत्ता भएका छन्।
त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि, बालाजुका १९ बसमा क्षति पुग्दा २१ जना बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन्।
हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुगेको छ भने १० जना चालक बेपत्ता छन्। त्यसैगरी, नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुगेको छ। सो घटनामा ४५ चालक बेपत्ता भएका छन्।
यस्तै, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन्। नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा समेत क्षति पुगेको महासङ्घले जनाएको छ।
पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्रु बेपत्ता भएका छन्। त्यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले जानकारी दिए।
महासङ्घले बाढीबाट क्षति पुगेका सवारीसाधन तथा बेपत्ता भएका चालक, सहचालक र यात्रुको विवरण सङ्कलन गरी सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।