चितवन । बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा १८ दिनपछि आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक पूर्णरूपमा भासिएको थियो।
सडक भासिएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो। नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि आजदेखि सडक नियमित रूपमा सञ्चालनमा ल्याइएको हो।
त्रिशूली नदीको कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भएपछि यातायात पूर्णरूपमा प्रभावित भएको थियो। पूर्वाधार विकास मन्त्रालयले जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएको थियो।
दुई दिनअघिदेखि सडकमा रोकिएका केही सवारीसाधनलाई साँझको समयमा पार गराइएको भए पनि आजदेखि भने नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो।
कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायात पनि आजदेखि सञ्चालनमा ल्याइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा यातायात सहज भएपछि तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए।
कृष्णभीरमा लामो समयसम्म सडक अवरुद्ध हुँदा ठूला सवारीसाधनले संघीय राजधानीतर्फ नियमित आवतजावत गर्न सकेका थिएनन्। सडक अवरोधका कारण राजधानीमा एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भएको थियो।
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीको बहाव बढेको थियो। त्यसपछि भदौ १४ गते आएको थप बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएको थियो। अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभीरमा सडकको ठूलो हिस्सा भासिएपछि लामो समय अवरोध भएको हो।
यस सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्दछन्।