काठमाडौँ, २ असोज । प्रजातन्त्र पुनःस्थापनाका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदै छ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा परिचित सिंहले विसं २०४६ को जनआन्दोलन सफल बनाएपछि तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको प्रधानमन्त्री बन्ने आग्रह अस्वीकार गरी आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए। यस घटनाले उहाँलाई नेपाली राजनीतिमा त्यागको उच्च नमूनाका रूपमा स्थापित गर्यो।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका सिंह विसं १९९७ मा स्थापना भएको प्रजा परिषद्का सदस्य बनेर राणाशासनविरुद्धको आन्दोलनमा सक्रिय हुनुभएको थियो। जेल जीवनदेखि भारतमा प्रवास, २००७ सालको क्रान्ति, २०१७ सालपछिको बन्दी जीवन हुँदै उहाँ जीवनभर प्रजातन्त्र स्थापनाको यात्रामा समर्पित रहनुभयो।
सिंहले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष, २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप अभियान, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनसम्म निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय र जनमुखी बनाउन निरन्तर क्रियाशील रहनुभयो।
नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो। स्मृति दिवसका अवसरमा आज बिहान ७ः४५ बजे शोभाभगवतीस्थित सालिकमा माल्यार्पणसहित कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।


