Sunday, June 21, 2026
Homeसामाचारप्रचण्ड- लु भेटवार्ता : विपिन जोशीको रिहाईदेखि शान्ति प्रक्रिया टुंग्याउन लागेको विषयमा...

प्रचण्ड- लु भेटवार्ता : विपिन जोशीको रिहाईदेखि शान्ति प्रक्रिया टुंग्याउन लागेको विषयमा छलफल

काठमाडौं: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। यो भेट प्रचण्डको खुमलटारस्थित निवासमा सम्पन्न भएको हो।

प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणलाई फलदायी हुने विश्वास व्यक्त गर्दै नेपाल र अमेरिकाबीचको लामोसमयदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता भेटवार्ताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, नेपालको आर्थिक विकासमा अमेरिकाले गरिरहेको सहयोगका लागि आभार प्रकट गर्दै प्रचण्डले सबैको सहकार्य र सद्भावले नेपाललाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन मद्दत गर्ने बताए।

कृषि, ऊर्जा, र पर्यटनलाई प्राथमिकता
प्रचण्डले कृषिलाई आधार मानेर ऊर्जा र पर्यटन विकासलाई प्राथमिकतामा राखेको बताउँदै नेपाललाई समृद्ध बनाउन सूचना प्रविधिलाई नेतृत्वदायी स्थान दिनुपर्ने उल्लेख गरे। अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी नेपालका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।

शान्ति प्रक्रियामा प्रगति
प्रचण्डले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका आधारमा मौलिक ढंगले अघि बढिरहेको जानकारी गराउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भावका लागि धन्यवाद दिए। उनले टिआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) विधेयक पारित भएपछि अन्तर्राष्ट्रिय समुदायबाट आएको सकारात्मक प्रतिक्रियाले नेपाललाई प्रोत्साहित गरेको बताए।

अन्तर्राष्ट्रिय तनावप्रति चासो
अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको बताउँदै प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने प्रभावप्रति संवेदनशील रहेको बताए। उनले नेपाली युवा विपिन जोशीको बेपत्ता अवस्थाबारे कुरा उठाउँदै इजरायली पक्षबाट प्राप्त सुखद समाचारप्रति खुशी व्यक्त गरे र उनको शीघ्र रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।

अमेरिकी समर्थनको प्रतिबद्धता
अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालको शान्ति प्रक्रिया र आर्थिक विकासमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै अमेरिकाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाए। उनले नेपालको विकासमा अमेरिकी सरकार मात्र नभई जनताको पनि सहयोग महत्वपूर्ण रहेको बताए। शान्ति प्रक्रिया राष्ट्रिय सहमति मार्फत टुंगिन थालेकोमा उनले यसलाई अन्तर्राष्ट्रिय समुदायका लागि पनि सुखद खबर भएको बताए।

यो भेटवार्ता नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा एउटा महत्वपूर्ण अवसर भएको जानकारहरूको विश्लेषण छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका