पोखरा । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बास र **धनराज आचार्य**बीच भेटवार्ता भएको छ। भेटमा नेपाल–इजरायल सम्बन्ध तथा पोखरा र इजरायलबीचको आपसी सहकार्यका विविध विषयमा छलफल भएको पोखरा महानगरपालिकाले जनाएको छ।
भेटका क्रममा मेयर आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य विस्तार गर्न आग्रह गरे। उनले आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा सहकार्य बढाउन सके त्यसबाट पोखरासहित समग्र नेपालले लाभ लिन सक्ने बताए।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न इजरायलको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे। पर्यटन, संस्कृति तथा हवाई सम्पर्कका क्षेत्रमा सहकार्य बढाउने प्रस्ताव पनि उनले राखेका थिए।
राजदूत बासले इजरायलको आधुनिक र प्रविधिमैत्री कृषि प्रणालीबाट नेपालले महत्वपूर्ण लाभ लिन सक्ने धारणा व्यक्त गरे। साथै, इजरायलमा सञ्चालन भइरहेको ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र व्यावहारिक अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको उनले बताए।
भेटमा दुवै पक्षले पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने विषयमा पनि चासो व्यक्त गरेका थिए। साथै, पोखरा र इजरायलबीच भविष्यमा सीधा हवाई उडान सञ्चालनको सम्भावनाबारे सकारात्मक छलफल भएको महानगरपालिकाले जनाएको छ।


