कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
घटनापछि दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति र छोरी रानीकाको शनिबार बिहान मृत्यु भएको हो।
स्थानीय कमल दाहाल श्रीमती सुष्मा र छोरी रानीकालाई स्कुटरमा लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। भारी वर्षाका कारण सडकमा भेल बढेपछि हर्कचोकमा उनले स्कुटर रोकेका थिए।
स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई तीव्र भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन्। त्यसपछि भेलले आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो।
कमलले हारगुहार गरेपछि स्थानीयवासी र प्रहरी उद्धारमा जुटेका थिए। उनीहरूले पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट आमाछोरीलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याएका थिए। तर उपचारका क्रममा दुवैको मृत्यु भएको हो।


