Sunday, November 8, 2026
Homeसामाचारपोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्स, भैरहवामा जजिरा र थाई...

पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने सिचुवान एयरलाइन्स, भैरहवामा जजिरा र थाई एयर एसिया पुनः उडान तयारीमा

काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियामा उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलियातर्फ नियमित उडान गर्ने तयारी गरेको हो। यसका लागि एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

उनका अनुसार अनौपचारिक छलफल भइसकेको छ र औपचारिक प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी भइरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनाबाट उडान सुरु गर्ने योजना बनाएको छ। यसअघि सिचुवान एयरलाइन्सले पोखरामा केही चार्टर्ड उडान गरिसकेको थियो।

यस्तै, भूटान एयरलाइन्सले पनि पोखरा विमानस्थलबाट पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडानको अनुमति मागेको छ। कम्पनीले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान गर्ने योजना बनाएको छ। सफल भएमा भूटान एयरलाइन्सले पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो नियमित उडान गर्ने तयारी गरेको प्राधिकरणले जनाएको छ।

हाल पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको हो र हाल वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान विस्तारको तयारी भइरहेको छ। जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सुरु गर्ने भएका छन्। थाई एयर एसियाले अक्टोबर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ अन्तर्गत हप्तामा दुई उडान गर्नेछ भने जजिरा एयरले पनि सोही सिजनमा उडान गर्ने योजना बनाएको छ।

यी दुई विमानस्थलमा विदेशी वायुसेवा आकर्षित गर्न सरकारले विशेष छुटको व्यवस्था गरेको छ। पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ, न्याभिगेसन शुल्क पूर्ण छुट दिइएको छ भने नेपाल एयरलाइन्सले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ७५ प्रतिशत छुट छ।

प्राधिकरणको विश्वास छ, सिचुवान, भूटान, जजिरा र थाई एयर एसियाजस्ता वायुसेवाको संलग्नताले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन र यात्रुका लागि नयाँ गन्तव्य थप्न सहयोग पुग्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका