काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले मूल्य समायोजन नभए आयल निगम घेराउ गर्ने चेतावनी दिएको हो।
अभियानका संयोजक सुनिल सिंहले २४ घण्टाभित्र मूल्य घटाउन सरकारलाई आग्रह गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिने बताए। “जनतालाई पुराना संरचनाबाट मुक्त गर्ने भन्दै आएका नयाँ शक्तिहरूले नै महँगीको भारी थप्नु विडम्बना हो,” उनले भने, “यदि जनताको आवाज नसुने आयल निगमको अस्तित्वमै प्रश्न उठ्ने गरी आन्दोलन हुन्छ।”
सह–संयोजक अजय सोडारीले छिमेकी मुलुकहरूमा मूल्य स्थिर रहँदा नेपालमा अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाए। “भारतमा पेट्रोलको मूल्य करिब ९५ रुपैयाँ हुँदा नेपालमा २१९ रुपैयाँ पुग्नु लाजमर्दो अवस्था हो,” उनले भने।
सोडारीले कर छुटको नाममा जनतालाई भ्रममा पारिएको आरोप लगाउँदै सरकारले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरे। उनका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँबाट बढेर २१९ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेल १४२ रुपैयाँबाट २३७ रुपैयाँसम्म पुगेको छ।
सरकारका निर्णयप्रति व्यापक विरोध हुनुपर्ने बेला समाज मौन रहेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। “महँगी निरन्तर बढिरहँदा पनि सबै चुप लागेर बस्नु चिन्ताजनक छ,” उनले भने।
अभियानका अन्य वक्ताहरूले समेत इन्धनको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको उल्लेख गर्दै तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन्। साथै, मूल्य नघटाइए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।


