काठमाडौं । रसुवा बाढीपछि अवरुद्ध पृथ्वी राजमार्ग शुक्रबार साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक विभागका अनुसार राजमार्गअन्तर्गत मलेखु नजिकका पोखरी, बाँगे र गलौंदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारु भएको हो।
बाढीका कारण गल्छी–बैरेनी खण्ड लेदोमाटोले पुरिएपछि यातायात प्रभावित भएको थियो। यसअघि लेदो हटाएर बिहीबारदेखि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।
त्यस्तै, पुल बगाउँदा सडकसमेत पुरिएको जरिखेत खण्डमा पनि लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली सहज हुने अपेक्षा गरिएको छ। उपत्यकाको प्रमुख ‘लाइफलाइन’का रूपमा रहेको यो राजमार्ग अवरुद्ध हुँदा राजधानीको आवागमनसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुँदै आएको थियो।


