काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाको आज ८३ वर्षको उमेरमा निधन भएको छ। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ः३० बजे उनले अन्तिम सास फेरेको स्वकीय सचिव डा. रुद्र शर्माले जानकारी दिएका छन्।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि अस्पतालमा उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो उल्लेखनीय योगदान दिएका ढुंगाना राजनीतिक आन्दोलनका क्रममा पटक-पटक जेल परेका थिए। उनका परिवारमा श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्। स्वकीय सचिव शर्माका अनुसार ढुंगानाको अन्त्येष्टि भोलि गरिनेछ।


