Sunday, November 8, 2026
Homeसामाचारपाकिस्तानीहरू नक्कली फुटबल टोली बनाएर जापान प्रवेश गर्ने प्रयासमा पक्राउ

पाकिस्तानीहरू नक्कली फुटबल टोली बनाएर जापान प्रवेश गर्ने प्रयासमा पक्राउ

काठमाडौँ । जापान यात्रा गर्ने उद्देश्यले पाकिस्तानका केही मानिसहरूले पूरै नक्कली फुटबल टोली खडा गरेका थिए। उनीहरूले राष्ट्रिय टोलीको नाममा भिसा समेत प्राप्त गरी जापान पुगे तर त्यहाँका अधिकारीहरूलाई शंका लागेपछि ठगीको पूरा पर्दाफास भयो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पेशेवर फुटबल खेलाडीको रुपमा प्रस्तुत भई जापानमा अवैध प्रवेश गर्ने योजनामा संलग्न मानव तस्करी गिरोह पत्ता लगाएको हो। यस प्रकरणमा २२ जना पक्राउ परेका छन्, जो सबै फुटबल खेलाडी बनेर अभिनय गरिरहेका थिए।

जापानी अध्यागमनले उनीहरूलाई पक्राउ गरी स्वदेश फर्काइदिएको छ। एफआईएका अनुसार, उनीहरू पूरा फुटबल पोशाकमा यात्रा गर्दै पाकिस्तान फुटबल महासंघ (पीएफएफ)सँग सम्बद्ध भएको दाबी गरिरहेका थिए। उनीहरूसँग पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको झुट्टा “नो अब्जेक्सन सर्टिफिकेट” (एनओसी) समेत फेला परेको थियो।

सोधपुछको क्रममा ठगी प्रस्ट भएपछि उनीहरूलाई फर्काइयो। तर उनीहरू कसरी पाकिस्तानी विमानस्थल पार गरेर विमान चढ्न सफल भए भन्नेबारे भने अझै स्पष्ट भएको छैन।

अधिकारिहरूका अनुसार, यो गिरोह सियालकोट–पसरुरका मलिक वकासले सञ्चालन गरेको हो। उनले गोल्डेन फुटबल ट्रायल नामक नक्कली क्लब खोलेर यात्राको लागि प्रत्येक व्यक्तिबाट ४० देखि ४५ लाख रुपैयाँसम्म असुल्ने गरेको देखिएको छ। वकासलाई सेप्टेम्बर १५ मा गुजरानवालास्थित एफआईए कम्पोजिट सर्कलले पक्राउ गरेको थियो। उनका विरुद्ध पहिल्यै धेरै मुद्दा दर्ता छन्।

यो वकासको पहिलो प्रयास थिएन। जनवरी २०२४ मा पनि उनले १७ जनालाई यस्तै तरिकाले जापान पठाउन सहयोग गरेको खुलासा भएको छ। त्यसबेला उनले जापानी क्लब बोभिस्टा एफसी बाट नक्कली निमन्त्रणा प्रयोग गरी १५ दिनको भिसा दिलाएका थिए। तीमध्ये कोही पनि फर्किएका छैनन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका