स्याङ्जा । वालिङ नगरपालिका–१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ। स्थानीयवासीलाई सहज रूपमा स्वास्थ्योपचार सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको भवन लामो समयदेखि अधुरो अवस्थामा रहेको हो।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि, चितवनसँग १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। तर निर्माण कम्पनीले समयमै काम नगर्दा भवन निर्माण अलपत्र परेको स्थानीयवासीको भनाइ छ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको हालसम्म करिब आधामात्रै काम सम्पन्न भएको छ।
तोकिएको समयावधिमा निर्माण सम्पन्न नभएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरेको उनले बताए। भदौको अन्तिमसम्म पनि निर्माण कम्पनीले कामलाई गति नदिए ठेक्का रद्द गर्ने तयारी रहेको लम्सालको भनाइ छ।
“सकेसम्म निर्माण गरिरहेको कम्पनीबाटै भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो,” उनले भने, “निरन्तर रूपमा काम गरेको भए धेरै समय लाग्ने थिएन। अहिले पनि करिब आधाजति काम बाँकी छ।”
कार्यालयले भवन निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक पत्राचार गरे पनि अपेक्षित रूपमा काम अघि बढ्न नसकेको जनाएको छ।
स्थानीयवासी तथा जनप्रतिनिधिले समेत पटकपटक निर्माणलाई तीव्रता दिन आग्रह गर्दै आए पनि निर्माण कम्पनीले बेवास्ता गरेको वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले बताए।
“हजारौँ नागरिकलाई स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले स्थापना भएको औषधालय निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको छ,” उनले भने, “समयमै काम सक्न पटकपटक अनुरोध गरेका छौँ। कुनै समस्या भए समाधानका लागि जनप्रतिनिधि र स्थानीयवासी सहयोग गर्न तयार छौँ भनेका छौँ, तर पनि कामले गति लिन सकेन।”
भवन निर्माण सम्पन्न नहुँदा आयुर्वेद औषधालयले भाडाको भवनबाट सेवा सञ्चालन गर्नुपरेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताए। पर्याप्त ठाउँको अभावमा औषधालयले प्रदान गर्नुपर्ने सबै सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।
“ठाउँको अभावका कारण औषधालयले प्रदान गर्ने सबै सेवा सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “मेडिकल योगा, शिरोधारालगायतका सेवा सञ्चालन गर्न सकिएको छैन। निर्माणाधीन भवनकै कारण ती सेवा अहिले ठप्प छन्।”
उनका अनुसार हाल औषधालयबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार तथा परामर्शका काम मात्र सञ्चालन हुँदै आएका छन्। भवन निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयवासीले पाउनुपर्ने आयुर्वेदिक स्वास्थ्य सेवासमेत प्रभावित भएको छ।


