चितवन । निरन्तरको वर्षाका कारण खसेको पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडक प्रयोग नगर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोलामा माथिबाट निरन्तर ढुङ्गा खसिरहेको छ भने सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी रूपमा बन्द भएको हो।
सोमबार साँझ साढे ७ बजेदेखि परेको अविरल वर्षाले पहिरो पन्छाउने कार्यसमेत प्रभावित भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले वर्षा नरोकिएकाले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको बताए।
प्रशासनले वर्षा नरोकिएसम्म र सडक सुरक्षित रूपमा सञ्चालनयोग्य नबन्दासम्म यस मार्गमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न तथा सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
सुरक्षा निकायले पनि वर्षायाममा पहाडी सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। सडक डिभिजन कार्यालयका अनुसार मौसममा सुधार आएपछि पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइनेछ।


