काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेशसहित कोशी प्रदेशको तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।


