काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी प्रदेशमा आंशिक बदली रहँदा तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागमा हुस्सु तथा कुहिरोको अवस्था रहनेछ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराई भू–भागमा हुस्सु र कुहिरो जारी रहनेछ भने पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


