काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने देशका बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै, उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।


