काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने देशका अन्य भूभागमा आंशिक बदलीको अवस्था रहेको छ। तराईका केही स्थानमा तुवाँलो देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही क्षेत्रमा कुहिरो लाग्ने सम्भावना रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भूभागमा भने मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ।


